पहिले बढुवा र त्यसपछि तक्मा। पूर्व सेनाप्रमुख रुक्मांगद कटवाल र सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानका डिआईजी दुर्जकुमार राईलाई अप्रिल आन्दोलनमा अपराध गरेबापत तक्मा दिने उद्घोष सरकारले गणतन्त्र दिवसकै दिन गर्यो। माधव सरकारको गुणगान हजार जीब्रा भएका शेष नागले पनि गर्न नसक्ने भए। लाग्छ, यस्तो गौरवमय कामको नेतृत्व गरेबापत प्रधानमन्त्री माधवकुमार नेपालको नाम नोबेल शान्ति पुरस्कारका लागि ओस्लो पठाउनुपर्छ।
पहिले, अन्तरिम सरकारका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले आन्दोलनका दोषी कटवाल र बासुदेव ओलीलाई बढुवा गरेर आन्दोलनकारीको संवेदनालाई धुलो चटाएका थिए। त्यही क्रमलाई निरन्तरता दिइयो, आन्दोलनका अर्का दोषी एसएसपी माधव थापालाई बढुवा गरेर। अहिले 'महावीर' दुर्जकुमार राईलाई सुप्रबल जनसेवाश्री र कटवाललाई सुकीर्तिमय राष्ट्रदीप दिने उद्घोष गरेर। मैना सुनार हत्याकाण्डका दोषी मेजर निरञ्जन बस्नेत र भैरवनाथ गण यातनाकाण्डका दोषी तोरणबहादुर सिंहको बढुवा माधव सरकारका अतिरिक्त 'सुकीर्ति' हुन्।
राई तिनै व्यक्ति हुन् जसको कमाण्डमा आन्दोलनमा कलंकीमा सगुन ताम्राकार, बासु घिमिरे, दीपक कामी, प्रद्युम्न खड्का मारिएका थिए। गोली चलाउँदै गरेको उनको तस्बिर अखबारमा छापिएको थियो। आन्दोलन दमनको छानबिन गर्न सर्वोच्च अदालतका पूर्वन्यायाधीश कृष्णजंग रायमाझीको अध्यक्षतामा गठित उच्चस्तरीय आयोगले शाही सरकारका मन्त्रीलाई गिरफ्तार र सुरक्षा अधिकारीलाई निलम्बन गर्न आग्रह गरेको थियो। त्यस क्रममा शाहीमन्त्री कमल थापा, रमेशनाथ पाण्डे, टंक ढकाल, श्रीषशमशेर राणा, निक्षशमशेर जबरालाई पक्राउ गर्ने निर्णय गरियो। २०६३ वैशाख २९ मा बसेको मन्त्रिपरिषद् बैठकले नौ उच्च सुरक्षा अधिकारीलाई निलम्बन गर्यो जसमा राई पनि थिए। नेपाल प्रहरीका महानिरीक्षक श्यामभक्त थापा, अतिरिक्ति महानिरीक्षक त्रय राजेन्द्रबहादुर सिंह, रूपसागर मोक्तान, कृष्ण बस्नेत, सशस्त्र प्रहरीका महानिरीक्षक सहवीर थापा, सहायक महानिरीक्षक रविराज थापा, एसएसपी द्वय माधव थापा र दुर्जकुमार राई तथा राष्ट्रिय अनुसन्धान विभाग प्रमुख देवीराम शर्मा निलम्बनमा परेका थिए।
रायमाझी आयोगको प्रतिवेदनले कटवाल र राईलाई बर्खास्त गर्न सिफारिस गरेको थियो। कोइरालाको आशीर्वाद पाई तत्कालीन बलाधिकृत कटवाल पछि सेनाप्रमुखसम्म भए। लोकतन्त्रको ढाडमा छुरी रोप्न र संविधानसभा निर्वाचन प्रभावित पार्न उनले के-के गरे, धेरैलाई थाहा छ। एसएसपी माधव थापाको बढुवा त्यसकै अर्को शृंखला थियो। तत्कालीन सशस्त्र प्रहरीका एसएसपी थापाले शाही निरंकुशताविरुद्ध उठेको अप्रिल आन्दोलनको छैठौँ दिन चैत २९ गते गोंगबुमा आन्दोलनकारीमाथि जथाभावी गोली चलाउने प्रहरी समूहको नेतृत्व गरेका थिए। उनको नेतृत्वमा खटिएको प्रहरीले अतिरिक्त महानिरीक्षक रूपसागर मोक्तानको घरको झ्यालबाट गोली चलाएको थियो। उनी आफैँले आन्दोलनकारीमाथि जथाभावी लाठी प्रहार गरेर केहीका आँखा फोडिदिएका थिए। घाइतेको उपचार भइरहेको स्थानीय स्वास्थ्य उपचार केन्द्रसमेत प्रहरीले बन्द गराइदिएको थियो।
अप्रिल आन्दोलन शाही निरंकुशताको जरो फाल्ने उद्देश्यसाथ भएको थियो। २५ जनाको सहादत, सैयौँको अंगभंग र सडकमा पोखिएको हज्जारौँको रगतको मूल्यमा स्थापित गणतन्त्रमा सरकार आन्दोलनको भावनाविपरीत काम गरिरहेको छ। कोइरालाले सुरु गरेको शृंखलालाई प्रधानमन्त्री नेपालले गौरवमय निरन्तरता दिएका छन्। २१ वर्षसम्म कुकुरको पुछर ढुंग्रामा राख्दा विचरा ढुंग्रै बांगियो। माधव सरकारले निरन्तरता पायो भने चाँडै नै उसले शाही सरकारका अध्यक्ष पूर्वराजा ज्ञानेन्द्र शाह, उपाध्यक्ष तुल्सी गिरी, मन्त्रीहरु टंक ढकाल, कमल थापालगायतलाई 'गणतन्त्रका मसिहा'का रूपमा सम्मान गर्ने खतरा छ। सरकार सायद आन्दोलनका अपराधीलाई खुसी पारेर सत्ताको गद्दा अकंटक राख्न चाहन्छ।
बालकृष्ण पोखरेलको एउटा कथा छ, 'सोधाइ र जवाफ'। यो, सम्भवतः नेपाली राजनीतिको सबैभन्दा ज्वलन्त विषयको सबैभन्दा मार्मिक कथा हो। कथाको नायक झुमकबहादुर मुक्तियुद्धमा एउटा खुट्टा गुमाउँछ। देशमा प्रजातन्त्र आउँछ, तर झुमकका सारा सपना बर्बाद हुन्छन्। आमाको मृत्यु हुन्छ। प्रेमिकाले धोका दिन्छे। मुक्तियुद्धमा क्रान्तिकारीविरुद्ध हतियार उठाएका प्रतिक्रियावादीहरू फेरि रजाइँ गर्न थाल्छन्।
कटवाल र राईको सम्मान त्यही स्थिति प्रत्यक्ष हुनलागेको प्रमाण हो। अप्रिल आन्दोलनका घाइते विष्णुलाल महर्जन हालै दिवंगत् भए। मुकेश महर्जन अहिलेसम्मै अचेत छन्। अरु कति ज्युँदा सहिद छन् जसको स्थितिबारे कसैलाई चासो छैन। के सहिदका सपना यिनै दमनकारीलाई पुरस्कृत गर्ने थियो? भारतीय कवि धूमिलले सायद यस्तै स्थितिलाई संकेत गरेर लेखेका होलान्-
फलामको स्वाद
फलामकर्मीलाई नसोध
त्यो घोडालाई सोध
जसको मुखमा लगाम हुन्छ।
from: nagriknews.com

0 comments:
Post a Comment