Gautam Dahal
निर्धारित कार्यसूचीमा अब बाँकी थियो सोसलाईज अर्थात् खाने, पिउने र बाँकी समय रमाइलोमा बिताउने । त्यही बेला एनआरएन अमेरिकाका विधान मस्यौदा समितिका संयोजक प्रल्हाद पन्त विधानका बारे बन्द सत्रमा छलफल गर्न विधान उपसमितिका सल्लाहकार र अन्य पदाधिकारीहरुलाई बोलाउँदै गर्दा हामी चाँहि पुरुषोत्तमजी र प्रीतिसागरजीसँग डाउनटाउनतिर घुम्न जाने मेसो मिलाउँदै थियौं । गोविन्द गिरी,राजा घले,सोनाम लामा,होमराज आचार्यसहित हामी बाहिरियौं घुम्नका लागि । बाटोमा मोहन तिम्सिना र सुनिता शिवाकोटी पनि थप हुनुभयो । प्रीतिजीको गाडीमा गफिदैं हामी मोहम्मद अलीको नामबाट नामाकरण गरिएको सडक हुँदै ओहायो नदीको किनारा पुग्यौं । साँझको त्यो वातावरण निकै रमाइलो थियो । ओहायो नदीको किनारैकिनार पुरुजी र म गफिदै अघि बढीरह्यौं । त्यहीबेला उहाँसँग पारिवारिक,व्यक्तिगत,राजनीतिक लगायतका विषयमा कुराकानी भयो । त्यतिबेलासम्म एमाले नेता जागृत भेटवालका पुत्र तथा वामदेब गौतमका ज्वाँईं गोविन्दजीका पुराना मित्र प्रकाश भेटवाल पनि त्यहाँ आईसक्नु भएको थियो । उहाँका भाई हेमन्त भेटवाल चाँहि घुम्न जान छाडेर दिउँसै कार्यक्रमस्थलबाटै निस्कनु भएको थियो ।
साँझ झिमिक्क भएपछि प्रकाशजी र प्रीतिजीको गाडीमा बाँडियौं अनि प्रकाशजीले अमेरिकाका १२ औं राष्ट्रपति ज्याकरी टेलरको चिहान घरको क्षेत्र हुँदै होटल पुर्याउनु भयो । त्यो बेलासम्म होटलमा सबै सोसल भईसक्नु भएको रहेछ । स्न्याक्समा बाँकी केही थिएन | बोतलहरु रित्तिने र समूह समूहमा गफिनेहरुको क्रम जारी थियो । आफू चाँहि हाँसको बथानमा बकुल्लो जस्तो भईरहेको थिएँ । साला यो जिन्दगीमा बोतल रित्याएर सोसल हुन र जीवन जिउन सकिएन । सोसल हुन र जिउन पिउनै पर्ने रे, मात्नै पर्ने रे, धुवाँमा जिन्दगी उडाउनै पर्ने रे । कस्तो बिडम्वना ! चाहिएन मलाई पिएर मातिएपछि मात्र सोसल कहलाइने नौटंकी ।
खैर यता खानाको पालोको प्रतीक्षा थियो । सोसलु बन्दै गर्नुभएका गिरिजा गौतमले खानाको ट्रे खोलेर महिला पहिलाको लिंगभेदी नारा लगाउँदै विष्णु थापा,विष्णु परियार र विद्या रिाजतलाई अघि सारेर लाइनमा भित्र्याउनु भयो । खानपिनपछि जम्यो सोसल लाईफ राती २:०० बजेसम्म । गिरिजा दाईको उद्घाटन सायरीसँगै शुरु भएको झ्याउरे सांगीतिक माहौलमा रौनक थप्नुभयो अम्बिकाप्रसाद अधिकारीले । पुराना नेपाली सदाबहार गीतमा रमाउनु हुँदो रहेछ उहाँ । गीत पनि लय मिलाएर गाउन सक्ने गला र कला रहेछ । त्यही गायकी गलाले माहौल नै सांगीतिक बनाईदियो । सायरीबाट शुरु भएको मेहफिलमा मादल र तालीसँगै रातभर दोहोरी र अन्ताक्षरी चलेछ ।
भोलिपल्ट बिहान सबैजना होटल छोड्नमा तारतम्य मिलाउँदै हुनुहुन्थ्यो । पुरुजी र प्रीतिजी होटलमा हामीलाई लिन आईसक्नु भएको थियो । प्रीतिजी डाक्टर प्रमोद ढकाल, बेन्जामिन, भुवन गुरुङ ,विष्णु फुँयाल,विष्णु परियारसहितका साथीहरुलाई घुमाउन लिएर निस्कनु भयो अनि म चाँहि पुरुजीसँग उहाँको घरतिर लागें । घर पुगेपछि म रेडियो दोभानका लागि रिपोर्ट तयार गर्नतिर लागें । हरेक आइतवार दिउँसो १ बजेदेखि २ बजेसम्म डिसी मेट्रो क्षेत्रबाट प्रत्यक्ष प्रसारण हुने रेडियो दोभानका लागि समाचार तयार गर्दागर्दै समय बित्यो । यता घुमफिरपछि साथीहरु सबै पुरुजीको घर फर्केर खानपीनमा लाग्नुभयो । तत्पश्चात उडान चाँडो हुने साथीहरुलाई विमानस्थलतर्फ छोड्ने प्रबन्ध पनि प्रीतिजीले नै गर्नुभयो । आफ्नो चाँहि आइतवार साँझ मात्र बाल्टिमोर फर्कने उडान भएकोले गर्दा बाँकी समय विष्णु फुयाँल, डाक्टर प्रमोद ढकालसहित पुरुजीकै घरमा गफगाफमा बिताइयो ।
करीब १ घण्टाको फरकमा हामी सबैको उडान समय भएकोले एकैपटक हामीलाई विमानस्थलसम्म छोड्नका लागि पुरुजी र प्रीतिजी पुरुजीको बुवासहित आउनु भएको थियो । डाक्टर ढकाल र बेन्जामिनको उडान पहिले भएकोले गर्दा उहाँहरु आफ्नो उडानतर्फ लाग्नुभयो । यता विष्णु फुयाँल र मेरो उडान समय एकैपटक भएकोले गर्दा विमानस्थलभित्रै विभिन्न विषयमा कुरा गरेर कफी गफमा समय बिताइयो । निर्धारित समयमा सुरक्षा जाँचका लागि पंक्तिवद्ध भएर सुरक्षा घेरा त पार गरियो । तर मेरो हाते ब्यागमा रहेको सेभिङ क्रिम र दुई सानो बोतल पानीका कारण सुरक्षा अधिकारीले क्रिम वा पानी निकालेर मलाई पुनः जाँचका लागि फर्कन हातमा थमाईदिएको प्राथमिकताको कागजसहित म फेरि जाँच घेरामा फर्किएँ । ब्यागबाट पानीको बोतल निकालेपछि म विमानतर्फ लागें । साँझ करीब ८ बजेतिर विमानले मिशिगनको डेट्रोइट विमानस्थलमा अवतरण गराएपछि ५० मिनेटसम्म त्यहाँ बाल्टिमोरतर्फका लागि उडानको प्रतीक्षा गर्नु थियो । टिकटमा उल्लेख गरेको पूर्व निर्धारित प्रवेशद्धारको छेउमा प्रतीक्षा गरेर भाईसाथीहरुसँग फोनमा कुराकानी गर्नतिर लागियो । तर निर्धारित समय नजिकिदै गर्दा पनि काउण्टरमा कुनै चहलपहल नदेखेपछि अर्को काउण्टरमा गएर सोधेको त प्रवेशद्धार परिवर्तन भएको सूचना पटकपटक दिएर अर्कै प्रवेशद्धारबाट विमानले मिशिगन छोडिसकेछ । अब परेन फसाद ! दौडधुप गर्दै विमानको सम्पर्क काउण्टरमा गएँ । तर राती बाल्टिमोर फर्कने कुनै विमान रहेनछ अब । समयमा ध्यान पुर्याएर सूचना सुनेको भए यस्तो परिस्थिति सामना गर्नुपर्ने थिएन मैले । तर अब पछुताएर मिशिगनमै रात बिताउनुको विकल्प पनि थिएन । त्यो बेला मनमा निकै तर्कनाहरु खेलिरहे । काउण्टरमा बिहानको प्रथम उडानका लागि टिकट मिलाएपछि अब होटलको प्रवन्ध गर्नुथियो । रात ढल्कदैं थियो । त्यर्ही बसेर इन्टरनेटमार्फत विमानस्थल नजिकैको एक होटल बुक गरेर विमानस्थलबाट बाहिरिएँ । बाहिर हिउँ पर्दै रहेछ अनि चिसो पनि । आफैंलाई हाँसो लाग्यो आफैंसँग आफ्नो कारण । सटल बसमार्फत होटल पुगेपछि कोठामा त गएँ तर रात अबेरसम्म मनमा थरिथरिका कुराहरु खेलिरहे अनि भोलिपल्ट काममा फर्कनुपर्ने बाध्यतालाई कसरी व्यवस्थापन गर्ने भन्ने सोच्दासोच्दै निदाइएछ ।
भोलिपल्ट बिहानै काउण्टरमा निस्कँदा त बाहिर रातभर परेको हिउँका कारण सबै सेताम्मे छ बा । जे होस् फेरि सटलमार्फत विमानस्थल आइयो अनि निर्धारित प्रवेशद्धारमा लाइन बस्दै विमानमा छिरियो तर हिउँकै कारण विमानले निकै समय लगायो उडानका निम्ति । करीब १०.३० तिर बाल्टिमोर उत्रेपछि मात्र आफ्नै घर आइपुगे जस्तो लाग्यो । वास्तवमा मान्छेको जात खै किन हो यसरी जहाँ बस्यो त्यहीं आफ्नोपन पाएको महशुस गर्दो रहेछ । नत्र मेरा लागि अमेरिकाको जुनकुनै कुना पनि समान हुनुपर्नेमा खै किन हो कतै बाहिरतिर गएर बाल्टिमोर नफर्केसम्म कतै परदेशमा छु जस्तो लाग्ने ? यस्तै भावनासँगै बाल्टिमोरले स्वागत गर्यो अनि सटलबसमार्फत् गाडी पार्क गरेको स्थानमा उत्रेपछि लागियो निवासतर्फ ।
अन्तमा
अमेरिकाको पश्चिमी क्षेत्रको एक राज्य जो निकै पछि सन् १७९२ मा मात्र भर्जिनिया राज्यबाट स्वतन्त्र गराइएको थियो केन्टकी भ्रमण मेरा लागि केही सिक्ने अवसर पनि थियो । तर पूर्व निर्धारित कार्यसूचीमा बाँधिएर हिड्नु परेकोले गर्दा सबै भने जस्तो त भएन । तैपनि आफ्ना पुराना मित्र पुरुजी र नयाँ मित्र प्रीतिजीको सहयोग निकै रह्यो । साथीभाईका लागि अमेरिका जस्तो व्यस्त दैनिक जीवनशैलीका बीच पनि उहाँहरुले दिनुभएको समय मेरा लागि निकै महत्वको छ । अमेरिकाका १६ औं राष्ट्रपति अब्राहम लिंकनको जन्मथलो, विश्वप्रसिद्ध बक्सिङ खेलाडी मोहम्मद अलीको जन्मथलो, केन्टकी फ्राई चिकेन केएफसी को मुख्यालय जस्ता अमेरिकासँग सम्बन्धित अरु विभिन्न कारण पनि केन्टकीको महत्व रहेको छ । त्यसोत हरेक वर्ष केन्टकीमा हुने केन्टकी डर्बी घोडचढी प्रतियोगिताका कारण पनि अमेरिकाभित्र केन्टकी चर्चामा रहने गर्दछ । विश्वकै सबैभन्दा लामो करीब ३६७ माइल ममुथ गुफा रहेको केन्टकी भ्रमण यही गुफा भ्रमणका लागि समय निकाल्न नसक्दा अधुरै रहेको छ । पुरुजीसँग फेरि एकपटक समय मिलाएर केन्टकी आउने र केन्टकीको भ्रमणलाई पूर्ण बनाउने सल्लाह पनि गरेको छु । तर हेरौं कति समय लाग्ने हो भ्रमणको अर्को तारतम्य मिलाउन । सूर्ती उत्पादन तथा निकासी एक किसिमको चुनढुंगाबाट बनाइने विश्वप्रसिद्ध केन्टकी बर्बन ब्राण्डको ह्वीस्की अनि मकैगहुँभटमास फलफूल गाइपालन र डेरी उत्पादन जस्ता कृषि उत्पादनका लागि पनि केन्टकी महत्वको छ । अमेरिकाभित्र ब्लुग्रास राज्यका रुपमा चिनिने केन्टकीको अर्थ भोलिको राज्यका रुपमा बुझिन्छ भने यसले एकतामा उभियौं विभाजित भए हामी असफल हुन्छौं भन्ने मन्त्र लिएर बसेको छ ।
यो नितान्त व्यक्तिगत भ्रमण त हो नै तैपनि अमेरिकामा छरिएर रहेका नेपालीहरुसँगको सानिध्यताआत्मियता मेरा लागि निकै प्यारो लाग्छ । जुन आत्मियतालाई सँगाल्दै म बाल्टिमोर फर्केर आफ्नो नियमित दैनिकीमा अभ्यस्त हुन थालें ।

0 comments:
Post a Comment