(१)
जिन्दगी
हरेकपल जिन्दगी हाँसेर बाँचेँ
अलिकति उब्रियो साँचेर बाँचेँ
धेरै मुठ्ठीमा, थोरै मुरीमा बाँचेँ
भूल भए मलाई माफ गरिदेऊ
जस्तो तिमीले दियौ त्यस्तै बाँचेँ ।
(२)
राजनीति
जातमा राजनीति, भातमा राजनीति
नातामा राजनीति, खातामा राजनीति
शासनमा राजनीति, प्रशासनमा राजनीति
दिक्क लागेर यसो भट्टीतिर छिरेको
मातमा पनि त्यही पो मिसिएको रहेछ ।
(३)
नेता
मुलुकलाई अनिर्णयमा राखेकै छन्
जनतालाई ढाँट्नसम्म ढाँटेकै छन्
संविधानसभाबाट भत्ता थापेकै छन्
संविधान नबनाए सेतो हात्ती किन पाल्नु ?
अब त नेता देख्यो कि कन्सिरी पो तात्छ ।
-टेकेन्द्र अधिकारी, विराटनगर

0 comments:
Post a Comment